चर्च भत्किँदा २३ को मृत्यु, अधिकांश महिला
विक्रम लुइटेल/मोरङ, (कृष्ण भट्टराई/सुनसरी) धरानमा चर्च भत्कँदा चार जना बालबालिकासहित २३ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन। धरान- १९ भिक्टोरिया चोकमा रहेको सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बाँसको दुईतले अस्थायी टहरा मंगलबार राति ११ बजे भत्किएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा बौकाझोडा झापाकी ४५ वषीर्या नन्दाकिशोरी लिम्बू, भद्रपुर- १२ झापाकी ४० वषीर्या सरोजा लिम्बू, सैनिक मोड झापाकी १२ वषीर्या आशा राई, इमाडोल- ८ ललितपुरकी ४८ वषीर्या सरिता दियाली, सूर्यनगर- ३ झापाकी ९ वषीर्या इकोला लिम्बू, बेलडाँगी झापाकी ८२ वषीर्या दिलमाया ल्वागुन, उदयपुरको ठोक्सिला- ८ का २९ वर्षीय राजेश राई, महेशपुर- ३ झापाकी १६ वषीर्या शान्ति तामाङ रहेका छन्। यसै गरी शान्तिनगर- १ झापाका १० वर्षीय अभिशेक राई, डाँगीहाट मोरङकी ३५ वषीर्या पवित्रा लिम्बू, हासपोसा- २ सुनसरीकी ६० वषीर्या गोमा भुजेल, पाँचकन्याको निशानडाँडाकी ५५ वषीर्या आटीमाया राई, झापाको बिर्तामोडका २८ वर्षीय मर्सी मेचे, काठमाडौंका ७ वर्षीय सुलेमान तामाङ, गुवाथान भारतकी ३५ वषीर्या निर्मला राई र बेलडाँगी झापाकी नन्दीमाया विकको मृत्यु भएको छ।यसै गरी मृत्यु हुनेहरूमा बेलबारी- ३ मोरङका ३८ वर्षीय राजेश राई, रूपन्देहीको मृगौलीकी ३८ वषीर्या कलावती खौसियार, डाँगीहाट- १ मोरङका ६० वर्षीय किशन चौधरी, मोरङको चन्द्रपुरकी ५५ वषीर्या कुमारी तामाङ, लक्ष्मीमार्ग मोरङकी ५० वषीर्या पुनम मगर, पाँचथरको यासोकका ४८ वर्षीय पिटर लावती र कास्कीको तल्लो गगनगौंडाकी २५ वषीर्या कल्पना थलामी रहेका छन्। मृत्यु भएकाहरूमा १५ जना महिला, ३ जना पुरुष र ५ जना बालबालिका छन्। बाँसले बनाइएको टहरामा सुत्ने क्रममा मानिसको वजन बढी भएपछि बाँस भाँच्चिएर दुर्घटना भएको हो। महिला तथा केटाकेटी सुत्ने तरखर गरिरहेको र केही सुतिसकेको अवस्थामा अचानक टहरा भत्केपछि दुर्घटना भएको वरिष्ठ प्रहरी नायब उपरीक्षक परशुराम खत्रीले बताउनुभयो। टहरा भत्किएपछि भागाभाग हुँदा च्यापिएर र निसास्सिएर २३ जनाको मृत्यु भएको हो। केही भने भाग्न नसकेपछि त्यहीँ थला परेका थिए। प्रहरीले घटना भएको एक घण्टापछि मात्र उद्धार शुरू गरेको थियो। घटनाको जानकारी ढिलो आएकाले उद्धार पनि ढिलो भएको प्रहरीले बताएको छ। भारत तथा नेपालका दुई हजारभन्दा बढी इसाई धर्मावलम्बी चर्चमा महासभाका लागि भेला भएका थिए। ठाउँ साँघुरो भएकाले आयोजकले बाँसको अस्थायी टहरा बनाएका हुन्। मृत्युपछि आक्रोशित आफन्तहरूले भने आयोजकले गम्भीर लापरबाही गरेका कारण दुर्घटना भएको बताएका छन्। बुधबार अपराहनसम्ममा घाइतेमध्ये ४२ जना उपचारपछि फर्किएको प्रतिष्ठानले जनाएको छ। सामान्य घाइतेहरू उपचारपछि र्फकने क्रम जारी रहेको प्रहरीले जनाएको छ। यसैबीच घटनाबारे गृहमन्त्री भीम रावलले जानकारी लिनुभएको छ। मन्त्री रावलले घटनास्थलको अवलोकनपछि ज्यान गुमाएकाहरूलाई क्षतिपूर्ति दिनका लागि सरकारले पहल गर्ने बताउनुभयो। दिउँसो गृहमन्त्री रावलले घाइतेहरूको अवस्थाका बारेमा समेत जानकारी लिनुभएको थियो। गृहमन्त्रीसँगै सुरक्षानिकायका उच्च पदाधिकारीहरू पनि घटनास्थल पुगेका थिए। गृहमन्त्रीले घटनाका बारेमा छानबिन गरिने जानकारी दिनुभएको छ। (एकै परिवारका तीनको मृत्यु)उक्त घटनामा मृत्यु हुनेमा एकै परिवारका तीन जना पनि रहेका छन्। झापाको सूर्यनगरका सरोजा लिम्बू, सिफोरा सुब्बा र सलोमी तामाङ एकै परिवारका फुपू-भदै नाता पर्ने रहेको बताइएको छ। कमजोर टहरा र क्षमताभन्दा बढी मानिस राखिनु दुर्घटनाको मूल कारण भएको स्थानीयवासीहरूको भनाइ छ। तर महासभा आयोजक सियोन प्रार्थनाभवनले भने विज्ञप्ति प्रकाशित गरी वर्षाका कारण टहरा कमजोर भएर भत्किएको जनाएको छ। यस्तै नेपाल सरकारलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले विज्ञप्ति निकाली घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। विज्ञप्तिमा घटनाप्रति नेपाल सरकारका तर्फाट गहिरो दुःख व्यक्त गर्दै मृतकका शोकसन्तप्त आफन्तजनहरूप्रति हार्दिक समवेदना प्रकटका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। यस्तै लिम्बुवान प्रान्तीय परिषद्ले पनि घटनाप्रति दुःख व्यक्त गरेको छ। यसैबीच घटनापछि धरान दिनभरि शोकाकुल बनेको थियो। आफन्तहरूको रुवाबासीबीच अस्पतालमा घुइँचो भएको थियो।