मेरो ख्रीष्टियान जीवन, सेवा र पीएचडी अध्ययनको यात्रा

                                                                               रेभ. डा. बालकृष्ण शर्मा:
कक्षा १ देखि ३ सम्म मैले गाउँकै फुलचोकी प्राथमिक विद्यालयबाट अध्ययन गरें। कक्षा ४ को मेरो अध्ययन मैले काठमाडौंको पशुपति मन्दिरको परिसरमा रहेको शिव पार्वती माध्यमिक विद्यालयमा पूरा गरेको थिएँ। आर्थिक अभाव र अविभावकको कमीले कक्षा ५ फेरि गाउँकै विद्यालयबाट पूरा गरें। अरू विषयहरूमा मेरो अध्ययन राम्रो भए पनि अङ्ग्रेजी विषयमा भने म अति नै कमजोर थिएँ। कक्षा ६ देखि १० सम्म मैले पनौतीको इन्द्रेश्वर माध्यामिक विद्यालयबाट अध्ययन गर्ने मौका पाएँ। अङ्ग्रेजी भाषामा म कमजोर भएको हुनाले वि.सं.२०३२ को एसएलसी परीक्षामा अङ्ग्रेजीमा ४ अङ्क अनुग्रह पाई म उत्तीर्ण भएको थिएँ। कक्षा ६ देखि १० सम्मको यस अध्ययन अवधिमा मेरो जीवनमा अन्य महत्त्वपूर्ण घटनाहरू पनि घटेका थिए। म कक्षा ७ मा अध्ययनरत हुँदा मेरो विद्यालयमा एक जना विदेशी आएका थिए र उनको साथमा बाइबल सम्बन्धि केही पुस्तकहरू रहेछन्। उनले विद्यालयका प्रधानाध्यापकसँग अनुमति मागी पुस्तकहरू बेच्न लागे। मैले पनि २५ पैसा तिरी दुईवटा साना पुस्तकहरू किनें। (पछि मात्र मैले थाहा पाएँ, त्यसबेला ख्रीष्टियान पुस्तकपुस्तिकाहरू वितरण गर्ने अनुमति थिएन र यसो गर्नेहरूलाई पक्राउ गर्ने सरकारी कानुन रहेछ।) सानै उमेरदेखि नै ममा जीवन के हो भन्ने सम्बन्धमा थुप्रै प्रश्नहरू थिए। एकातर्फ म हिन्दू परम्पराबाट प्रभावित थिएँ भने अर्कोतर्फ विद्यालयमा बढिरहेको नास्तिकवादबाट पनि म प्रभावित हुन लागेको थिएँ। दुई सोचहरूका प्रभावका बीचमा जीवनको अर्थ के हो भन्ने प्रश्न मभित्र अझै प्रबल बन्दै गयो। काभ्रे जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा मैले भाग लिने मौका पाएको थिएँ। हामीलाई तयारी गर्ने क्रममा एउटा प्रश्न र उत्तरले मलाई प्रभाव पारेको थियो। प्रश्न यसप्रकार थियो, बुद्ध एशियाका ज्योति हुन् भने संसारका ज्योति को हुन्? यसको सही जवाफ येशू ख्रीष्ट भन्ने थियो। मेरो कलिलो मन यस तथ्यबाट पनि प्रभावित बन्न पुग्यो। जीवनको अर्थ के हो भन्ने खोजीको क्रममा मैले किनेका ती दुईवटा ख्रीष्टियान पुस्तिकाहरू पढ्न लागें। पढ्दै जाँदा येशूको क्रूसको मृत्यु र उहाँ तेस्रो दिनमा बौरिउठ्नुभयो भन्ने सत्यताले मेरो मनमा अझै गम्भीर प्रश्नहरू उब्जाउन थाल्यो। येशू साँच्चै मरेको शरीरबाट बौरिउठ्नुभएको हो भने यो त अचम्मको सत्यता हो। मेरो मनमा यस बारेमा अझै जान्ने उत्सुकता जाग्यो। मैले किनेको पुस्तकको अन्त्यमा लेखिएको पत्राचारको ठेगानामा मैले पत्र लेखें र करिब २ वर्षसम्म मैले पत्राचार गरें। यस पत्राचार अवधिमा मैले येशूको बारेमा धेरै कुराहरू सिकें।

वि.सं. २०३१ सालमा मैले पहिलोपल्ट दुई जना ख्रीष्टियान मित्रहरूलाई मेरै विद्यालयमा भेटें। लामो अनुरोधपछि उनीहरू मलाई भेट्न आएका थिए। पनौतीमा मैले लिएको डेरामा उनीहरूलाई लगें। उनीहरूले मलाई येशूको बारेमा स्पष्टसँग बताए, भजौं मीठो नाम भन्ने भजन गाएको अझै मलाई स्मरण छ। त्यसै दिन मैले येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गरेँ, त्यो जेठको महिना थियो। मभित्र परिवर्तन भएको अनुभुति मैले गर्न लागेँ। मेरो गाउँमा र सम्भवतः मेरो काभ्रे जिल्लामा येशूलाई ग्रहण गर्ने म पहिलो व्यक्ति थिएँ। म येशूको भक्त भएँ भनी मेरा विद्यालयका साथीहरूले जिस्काउन लागेका क्षण अझ पनि मेरो मानसपटलमा आलै छ। त्यही वर्षको असार महिनाको बिदामा म काठमाडौं आएँ र एउटा मण्डलीमा जाने अवसर पनि त्यही बेला मैले पाएको थिएँ। त्यस मण्डलीमा त्यस दिन गरिएको प्रचारको विषय अझै मलाई याद छ। यही समयमा मैले एउटा नयाँ करार बाइबल पनि प्राप्त गरेको थिएँ। ती दिनहरूका प्रत्येक क्षण मेरो निम्ति अद्भूत अनुभवहरू थिए। मेरो घरमा पनि म ख्रीष्टियान भएको कुरा जानकारी हुन लाग्यो। गहिरो भक्तिसाथ मैले गर्दै आएको पाठपूजा एक्कासि रोकियो। मेरी आमा लगायत अरू मित्रहरूलाई मैले येशूको बारेमा बताउन थालें। काठमाडौंबाट ल्याइएका सुसमाचारका पुस्तिकाहरू बाँड्ने मौका पनि मैले पाएँ। यी सुरुका दिनहरू भए पनि अति उत्साह र चुनौतीका दिनहरू थिए।

ख्रीष्टियान भयो भन्ने घरको, गाउँको, गुरुहरूको र साथीहरूको गुनासो हुँदाहुँदै पनि परमेश्वरको अनुग्रहबाट अगि बढ्ने प्रेरणा निरन्तर रूपमा मेरो जीवनमा बढ्दै गयो। मभित्र बाइबल पढ्ने गहिरो इच्छा जाग्न लाग्यो। मैले ती मेरा ख्रीष्टियान मित्रहरूसँग बाइबल पढ्न पाउने स्थानको बारेमा सोधखोज गर्न लागें। यो म विश्वासमा आएको एक वर्षपछिको कुरा हो। यतिखेर मेरो एसएलसी परीक्षा पनि सकिएको थियो। म नतिजाको प्रतीक्षामा रहेको थिएँ। बाइबल अध्ययन गर्ने मेरो तीव्र इच्छा देखेपछि एक ख्रीष्टियान मित्रले अर्का एक मित्रलाई एकजना पास्टरसँग भेटाउनका लागि मलाई लिएर गए। त्यो सन् १९७७ को जुन महिनाको पहिलो शनिवार हुनुपर्छ। त्यो सानो संगतिमा करिब ७ जना व्यक्तिहरूको उपस्थिति भएको थियोजस्तो मलाई लाग्छ। त्यस दिनको संगति कसले चलायो, त्यसको मलाई त्यति सम्झना छैन तर संगतिको बेला भजन छान्दा मैले भजौं मीठो नाम भजन छानेको अझै मलाई सम्झना छ। मण्डलीका पास्टरचाहिँ त्यस दिन बाहिर गएका रहेछन् र संगति सकिएपछि उनी आए र उनीसँग मेरो भेट भयो। मलाई त्यहाँ लिएर आउने मित्रले बाइबल अध्ययन गर्ने मेरो इच्छालाई पास्टरको सामु प्रकट गरे। ती पास्टरले मलाई एउटा प्रश्न गरे, “किन बाइबल पढ्नलाई बाइबल कलेजमा जाने?”मेरो मनबाट एउटा जवाफ आयो। मैले उनलाई भनें, “म येशूलाई चिन्न र चिनाउन चाहन्छु।”ती पास्टरले मलाई भने, “तपाईं जानुहुन्छ भने आज घर जानुहोस्, बाटोखर्च दुई सय रुपियाँ लिएर भोलि आउनुहोस्।” यति कुरा सुनेपछि मलाई लिएर आउने ती मित्रका साथ म घर फर्कनका लागि रत्नपार्कमा बस चढ्न गएँ। घरबाट बिदा लिनुपर्ने, बाटोखर्च पनि ल्याउनुपर्ने, कहाँ जाने हो भन्ने कुरा पनि थाहा नभएको अवस्थामा यो सबै सम्भव होला वा नहोला भनी म चिन्तित भएको देखेर मलाई ल्याउने ती मित्रले प्रभुले गर्नुहुने आश्चर्यकर्मको बारेमा केही कुरा बताएर मलाई हौसला दिएको कुरा मलाई अझै याद छ। रत्नपार्कबाट बस बनेपातर्फ गुड्यो। बसको यात्रामा मैले परमेश्वरसँग एकोहोरो प्रार्थना गरिरहेँ। बनेपाबाट हिँड्दै, पनौती हुँदै म घर पुगेँ। बाटोमा मैले बाइबल अध्ययनका लागि जानेकुरा गर्दा मेरा साथीहरूले मलाई हप्काए। एसएलसीको नतिजा आएपछि यहीँ कलेजमा पढनुपर्ने कुरामा उनीहरूले जोड दिए। उनीहरूले त्यस किसिमका सुझावहरू दिए पनि मेरो मन भने बाइबल कलेजमा नै जाने कुरामा प्रतिबद्ध थियो। घरमा पुगेपछि मैले मेरी आमासँग आफू पढ्न जाने कुरा गरेँ। आमा सहमत हुनुभएन। मेरा बाबुलाई आमाले भनिदिनुभएछ। उहाँ त सहमत हुने कुरै थिएन। उहाँ एकाबिहानै अन्त्यै जानुभएछ। अनुमति र बाटोखर्च दुवै पाइएन। दिनको १२ बजेसम्म कुरेर बसेँ। मेरो भित्री मनमा म अवश्य पनि जान्छुजस्तो लागिरहेको थियो। गाउँका एकजना व्यक्ति हाम्रो घरमा आएका थिए। उनले मलाई भेटेपछि मेरो मनसाय बुझे र पठाइदिनका लागि मेरा बाआमालाई अनुरोध गरे। खर्च चाहिएमा हालिदिने इच्छा पनि जाहेर गरे। अन्त्यमा मेरो भाइलाई साथ लगाई मेरा बाआमाले मलाई पठाए। यात्राको लागि २०० रुपियाँ पनि दिए। मेरो भाइ र म काठमाडौं आयौँ। त्यस बेलुका असाध्यै पानी परिरहेको थियो। मलाई बाइबल कलेज पठाइदिने पास्टरले म जानुपर्ने ठाउँमा पुग्नका लागि गर्नुपर्ने यात्राको बारेमा लेख्न लगाए। म जानुपर्ने ठाउँमा पुग्न ५ दिन ५ रात लाग्ने रहेछ। कति ठाउँमा त दिनभरि कुर्नुपर्ने रहेछ। मैले पहिले कहिल्यै रेलको यात्रा गरेको थिइनँ, कहिल्यै रेल देखेको पनि थिइनँ। पास्टरले भन्दै गर्दा मलाई अत्यास लागिसकेको थियो। मलाई हिन्दी र अङ्ग्रेजी भाषाको ज्ञान थिएन। म ठूलो दोधारमा परेको थिएँ। तर मेरो मनमा म जानुपर्छ भन्ने स्पष्ट आवाज मैले सुनेको थिएँ।

काठमाडौंबाट मैले एक्लै मेरो यात्रा सुरु गरेँ। आज पनि मलाई यो यात्रा प्रस्टसँग थाहा छ। म कहाँ बसेँ, कसलाई भेटेँ, के खाएँ, सबै स्मरण छ। काठमाडौंबाट बीरगञ्ज, रक्सोल, मुजफरपुर, कलकत्ता, मद्रास हुँदै म बैंग्लोर पुगेँ। रक्सोलदेखि कलकत्तासम्म आधा दिन र रातभरि झोला टाउकोमा राखेर उठीउठी यात्रा गरेको कुरा मलाई अझै ताजा सम्झना छ। मैले बाइबल कलेज जाने निर्णय अचानक गरेको हुनाले मैले कलेजको फारम भर्ने मौका पनि पाएको थिइनँ। मेरो उमेर पनि १६ वर्षको मात्र थियो। नियमअनुसार पढ्नका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्ने रहेछ। सो पनि मलाई थाहा थिएन। मैले मसँग दुईवटा पत्रहरू बोकेर गएको थिएँ। एउटा पत्र मलाई भर्ना गरिदिनू भन्ने थियो भने अर्कोचाहिँ कारणवश भर्ना लिन नमिल्ने भए भा. रु. २०० दिई फर्काइदिनू भन्ने थियो। यस सम्बन्धमा म जानुअगाडि नै पास्टरले मलाई बताएका थिए।

बैंग्लोरमा पुगेपछि कोही व्यक्तिहरूको सहयोगमा म कलेजमा पुगेँ। मसँग एउटा सानो झोला बाहेक केही धेरै सामान थिएन। मेरो यात्रा हलुको थियो। कलेज पुगेपछि अङ्ग्रेजी भाषामा मसँग कुराकानी गर्न थालियो तर मैले एक वाक्य पनि फर्काउन सकिनँ। ममा अङ्ग्रेजी लेख्ने र पढने दुवै क्षमता प्रायः शून्य थियो। मलाई प्रिन्सिपलकहाँ लगियो। उनले मलाई केही प्रश्न सोधे, तर मैले उत्तर दिनु त के कुनै प्रश्न नै बुझनँ। भोलिपल्ट कलेज प्रशासनको बैठक बस्यो। मेरो अवस्थाको अवगत सबैलाई गराइयो। मलाई ४ महिनाको अवधि दिएर भर्ना गरियो। मेरो अध्ययनको लागि मैले दुईवटा रणनीति अपनाएँ। एउटा प्रार्थना र प्रभुबाटको अनुग्रह र अर्को कडा परिश्रम। मैले दिनरात परिश्रम गरेँ र परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो। प्रभुको अनुग्रह र कडा परिश्रमको फल बीटीएच चौथो वर्षको अन्तिम सेमेस्टरको परीक्षामा म प्रथम भएँ। परिश्रमको फल मीठो हुन्छ भन्ने ज्ञान मैले त्यहाँबाट नै सिकेको हुँ। मेरो उदाहरणले धेरै व्यक्तिहरू आशिषित् भएका गवाहीहरू पनि मैले सुनेको छु र म आफैं यसबाट उत्साहित भएको छु।

यस बाइबल कलेजको मेरो अध्ययनावधिमा मलाई आर्थिक रूपमा सहयोग गर्ने खास कोही थिएन। काठमाडौंको मण्डली पनि सानो भएको हुनाले लगातार मेरो कलेजको शुल्क तिरिदिने अवस्था पनि थिएन। घरबाट आर्थिक सहयोग माग्ने कुरा पनि सम्भव थिएन। पकेट खर्च र कलेजको फिको लागि प्रार्थना गर्नुबाहेक अरू कुनै उपाय थिएन। मेरो आर्थिक अवस्थाको कारण मलाई कार्य छात्रवृत्ति प्रदान गरियो, जसअनुसार मैले दैनिक २ घण्टा काम गर्नुपर्थ्यो। कहिले बगैंचाको काम, कहिले शौचालय सफा गर्ने काम, कहिले बढार्ने कामजस्ता विभिन्न कामको अनुभव मैले बटुलेको छु। मजस्तै अरू मित्रहरू पनि यस्तै कामका लागि खटिएका थिए। यो मेरो लागि सिक्ने थलो पनि बन्यो। गरिब भएर जिउने जीवनको पीडा पनि मैले यस कलेजको जीवनकालमा अनुभव गरेको छु। परमेश्वरले विभिन्न व्यक्तिहरू-मार्फत मेरा आवश्यकताहरू पूरा गर्नुभएको अनुभव पनि मसँग छ। ख्रीष्टियान भएपछि सबै कुरा पाइन्छ भन्ने सोचाइ गलत छ भन्ने कुराको गतिलो प्रमाण मसँग छ। बाइबल कलेजमा अलिकति गतिलो पकेट खर्च हुनेहरूको रवाफ पनि मलाई थाहा छ। कलेजमा एउटा क्यान्टिन थियो। त्यसमा प्रायःजसो कुखुराको अण्डाबाट बनाइएको अमलेट बेचिन्थ्यो। पैसा नहुनेहरूले कलेजको भान्छामा जे पाक्थ्यो, त्यही खाएर चित्त बुझाउनुपर्थ्यो। क्यान्टिनमा बेचिएको अमलेट खान नपाउनेहरूमध्येको म पनि एक थिएँ। प्रायःजसो कलेजको दिउँसोको खाना खान अति नै कठिन थियो। भात र पानीजस्तो सङ्ग्लो दालको झोलमा खाना खानुपर्थ्यो। हरेक दिन नै यही प्रक्रिया दोहोरिन्थ्यो। खाना त मीठो थिएन थिएन, एक दिन अलिकति पैसावालले उसको मेचमा म बसेको झोकमा सबै खाना मेरो मुखमा फालिदिएको अनुभव पनि मसित छ। ममाथि अन्याय हुँदाहुँदै पनि मैले क्षमा दिई घण्टौँसम्म प्रार्थना गरेको याद मलाई छ। पछि उनी र म घनिष्ठ मित्र हुने अवसर पनि मैले पाएँ। मैले माथि बताएझैँ मेरो सुरुको अध्ययन अति नै कमजोर थियो। एकजना राम्रो अक्षर लेख्ने मेरै कक्षामा मसँग पढ्ने विद्यार्थी थिएँ। म लेख्न नजान्ने तर अरूहरूका नोट सार्न सक्ने हुनाले मैले उनको नोट कापी मागें तर किन हो कुन्नि उनले मलाई त्यो दिन चाहेनन्। मैले कर पनि गरिनँ। तर मेरो मनमा त्यो कुरा रहिरहेको थियो। सन् १९८७ मा मलाई त्यस कलेजमा अतिथि शिक्षकका रूपमा बोलाइयो। मैले विश्वका प्रमुख धर्महरू भन्ने विषय एमडीभ कक्षालाई पढाउनुपर्ने थियो। उनी पनि विद्यार्थीका रूपमा भर्ना भएका रहेछन्। त्यो मेरो लागि अद्भूतको क्षण भयो। उनी मसँग डराएकाजस्ता पनि गरे। तर मेरो मनमा उनीप्रति कुनै प्रतिशोध थिएन। उनले मेरो कक्षामा राम्रो अङ्क ल्याए किनकि उनी असल विद्यार्थी थिए। अरू बाइबल कलेजहरूमा पढ्दा पनि मेरा यस्तै अनुभवहरू छन्, समयले साथ दिएमा आउने अङ्कहरूमा म बताउँदैजानेछु।

बाइबल कलेजबाट दीक्षित भएपछि मैले शिक्षण सेवामा आफ्नो समय बिताएको छु। परमेश्वरको वचन सिकाउने प्रेरणा मसँग थियो र अहिले पनि छ। ६० भन्दा बढी पुस्तकहरूको अनुवाद गरेको अनुभव पनि मसँग छ। आधा शताब्दी बितिसकेको यस उमेरसम्म मैले मेरो अध्ययनलाई रोकेको छैन। मैले अध्ययनलाई मात्र साथ लिएर गएको नभई यसलाई व्यावहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छु। सन् १९८० को दशकमा मैले आइए, बीए र बीडी गर्ने अवसर पाएँ। १९९० को सुरुमा एमटीएच (धर्म) र एमए (अङ्ग्रेजी साहित्य) गर्ने मौका पाएँ। मेरो अध्ययनले मलाई विभिन्न कलेजहरूमा पुर्‍याएको छ। विभिन्न पृष्ठभूमिका ख्रीष्टियानहरू र गैह्र ख्रीष्टियानहरूलाई भेट्ने अवसर पनि मैले पाएको छु। यसले मेरो बौद्धिक र सेवीय जीवनमा सकारात्मक असर पार्नुका साथै ख्रीष्टको सुसमाचार मानव परिवर्तनको एकमात्र उपाय हो भन्ने प्रतिबद्धतालाई ममा प्रबल पारेको छ। मेरो यस अध्ययन जीवनलाई अगाडि बढाउने कार्य त्यति सजिलो थिएन। अध्ययन गर्न आवश्यक छैन भन्ने आवाजहरू पनि प्रबल थिए। धेरै ठाउँमा परिवारसाथ अध्ययन गर्न जाने मेरो निर्णयले गर्दा आर्थिक सङ्कटको गहिरो अनुभव पनि मसँग छ। यी चुनौतीपूर्ण समयहरूमा मैले परमेश्वरको विशेष अनुग्रहको अनुभव गरेको छु। मेरो अध्ययनको यात्रालाई उत्साह दिने र मलाई निरुत्साहित गर्ने दुवै मित्रहरूलाई मैले अनुभव गरेको छु। उनीहरूको निरुत्साहले मलाई प्रार्थना गर्ने योद्धामा परिणत गरिदिएको छ। जीवनका सङ्घर्षलाई सकारात्मक रूपमा लिनका लागि विभिन्न परिस्थितिले मलाई सहयोग गरेको छ।

मेरो पीएचडीको अध्ययनको सुरुवात पनि चाखलाग्दो छ। मेरो सुरुको छनोट भारत नै थियो, जहाँ मैले पहिलेका उपाधिहरू हासिल गरेको थिएँ। कम आर्थिक भारको हिसाबले पनि र पूरै समय अध्ययनमा बिताउन सकिने र छिट्टै अध्ययन पूरा हुने सम्भावना पनि भारतमा नै थियो। बाइबलीय शिक्षाको सेवाको निरन्तरता र छोराछोरीको अध्ययनको कारण पूरै परिवार लिएर भारत जाने सम्भावना देखिएन। बेलायतबाट अर्धसमय अध्ययन गर्ने सम्भावनाको खोजी गरियो र यसमा संलग्न हुने निर्णय पनि भयो। अब आर्थिक आवश्यकता अगाडि देखा पर्‍यो। बेलायतका विश्वविद्यालयहरूमा अध्ययन गर्नका लागि शैक्षिक योग्यता र आर्थिक सबलता दुवै चाहिने रहेछ। हाम्रो देशको आम्दानीको हिसाबले त्यहाँ तिर्नुपर्ने शुल्क ज्यादै धेरै हो। म लगायत मेरा मित्रहरूका प्रार्थनाको फलस्वरूप परमेश्वरले मेरा आवश्यकताहरू आश्चर्यप्रकारले जुटाइदिनुभएको मलाई अनुभव छ। मेरो कामको व्यस्तता र आर्थिक कठिनाइले दुई वर्षसम्म मेरो अध्ययन स्थगित भयो। मेरी श्रीमती र धेरै मित्रहरूको उत्साहले केही वर्षको अन्तरालमा म फेरि सन् २००९ मा बेलायत गई अक्सफोर्डमा ४ महिनाजति बसें। यही अवधिमा मैले पहिले नै सङ्कलन गरेका दस्तावेजहरूबाट लेख्ने कार्य गरें। त्यस अवधिमा मैले दिनमा झण्डै १४ घण्टा काम गरें। गत वर्षको सेप्टेम्बरमा मेरो थेसिसको मस्यौदा तयार गरें र त्यहाँ मेरो मौखिक जाँच पनि भयो। केही थपघट गर्नुपर्ने सुझाव लिएर म नेपाल फर्कें र यसै वर्षको अप्रिल महिनामा मेरो थेसिस नेपालबाटै बुझाएँ। मेरो मौखिक परीक्षा को मिति जुन २१ तोकियो। मेरा दुई जना परीक्षकहरू नियुक्त गरिएका थिए। एक जना कलेज भित्रकै डेविड सिँ थिए भने अर्काचाहिँ विश्वविख्यात् मानवशास्त्री डेविड गेल्नर थिए। गेल्नर अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्र विभागका प्रमुख पनि हुन्। त्रिभुवन विश्वविद्यालयसँग पनि उनको गहिरो सम्बन्ध छ। उनले नेवारी संस्कृतिमा धेरै अध्ययन पनि गरेका छन्। उनी मेरा परीक्षक नियुक्त भएका छन् भन्ने कुराले केही हदसम्म मलाई त्रसित पनि पार्‍यो। डा. महेन्द्र भट्टराईले मलाई उनको बारेमा बताएका थिए। मैले प्रार्थनाको सहयोगको लागि मेरा मित्रहरू र शुभचिन्तकहरूलाई अनुरोध गरेको थिएँ। मेरो परिवारले पनि मेरो लागि निरन्तर प्रार्थना गरिरहेको थियो। मैले लेखेका कुराको प्रस्तुतिमा मेरो थेसिसको नतिजा भर पर्ने थियो। एक लाखभन्दा बढी शब्दहरू रहेको मेरो थेसिसबाट सन् २०१० जुन २१ मा मेरो मौखिक परीक्षा सुरु भयो। मेरो थेसिसको शीर्षकचाहिँ, नेपालमा मृत्यु संस्कारः दहन, दफन र ख्रीष्टियान पहिचान भन्ने थियो। यस शीर्षकलाई सरलीकरण गर्दा नेपालमा मृत्यु संस्कारः घाट, चिहान र ख्रीष्टियान पहिचान भन्न पनि सकिन्छ। दुई घण्टासम्म भएको प्रश्नोत्तर र छलफलमा मेरा दुवै परीक्षकहरू मसँग सन्तुष्ट भए र मलाई पीएचडी दिने निर्णयमा पुगे। मेरो सफलताको समाचार मेरो लागि खुसीको क्षण हुनुको साथै जिम्मेवारी बोधको क्षण पनि थियो। मेरो जीवनमा प्रार्थना र आर्थिक लगानी गर्ने मेरा मित्रहरूप्रति म अति नै कृतज्ञ छु। मेरो यो उपलब्धी सेवाको लागि प्रयोग हुनुपर्छ भन्ने कुरामा म सचेत छु। मेरो लागि सबैको प्रार्थनाको खाँचो छ। मेरो थेसिसलाई छाप्ने योजना पनि मसँग छ। भविष्यमा अन्य विषयहरूमा अनुसन्धान गर्ने इच्छा पनि मसँग छ। मैले एमडीभ तहका थेसिसहरूलाई मार्गदर्शन दिने कार्य पनि गरिरहेको छु। यसको साथसाथै नेपाल थियोलोजिकल कलेजको शिक्षा र यसको विकासमा पनि मेरो जिम्मेवारी छ। अन्त्यमा, मेरो जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष प्रकारले लगानी गर्नुहुने सम्पूर्ण प्रियजनहरूप्रति आभार व्यक्त गर्नुको साथै यस सफलताको सम्पूर्ण श्रेय म परमेश्वरलाई दिनचाहन्छु। हामी सबैका आ-आफ्नै अनुभवहरू हुन्छन् र हाम्रो अनुभवले हामीलाई सकारात्मक पाठ सिकाउनुपर्छ। हाम्रो जीवन छोटो छ र झगडा गरेर बस्ने समय हामीसँग छैन। ख्रीष्टको सन्देश मिलापको सन्देश भएको हुनाले, हामी सबैसँग मिलापमा जिउनुपर्छ। ढुङ्गाले हान्नेलाई फूलले हान्नुपर्छ भन्ने हाम्रा बुढापाकाहरूका भनाइ बाइबलसम्मत नै छन्। यही गर्नका लागि प्रभुले प्रशस्त अनुग्रह देऊन्।

Popular posts from this blog

Nepal’s Ongoing Challenges – Nepal Updates

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो